चोर त चोर्न, मार्न, र नाश गर्नलाई मात्र आउँछ। तर मचाहिँ तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भनेर आएको हुँ।
यूहन्ना १०:१०
येशूमा सुत्ने सबै विश्वासीहरूको पुनरुत्थान हुनेछ भनेर देखाउने सबुद प्रमाण नै उहाँको पुनरुत्थान थियो।
उहाँ आफैले भन्नुभयो, “मेरो पिताले मलाई माया गर्नुहुन्छ किनभने म आफ्नाे प्राणलाई सुम्पन्छु अनि फेरि लिनेछु। कसैले यसलाई खोस्ने छैन, यो त म आफ्नाे खुसीले दिनेछु। मलाई आफ्नाे प्राण अरूको लागि दिने हक छ साथै यो प्राण फेरि फिर्ता लिने हक पनि छ। मेरा पिताले मलाई दिनुभएको आज्ञा पनि यही नै हो।” युहन्ना १०:१७-१८ उहाँमा भएकै जीवनले गर्दा उहाँ चिहानबाट निस्कनुभयो। मानवता मरेको थियो । तर ईश्वरीयता वा परमप्रभुको दिब्य अर्थात् दैविक व्यक्तित्व मरेको थिएन। येशू परमप्रभु हुनुभएकोले मृत्युको मुठ्ठीलाई तोड्न उहाँमा शक्ति थियो। आफुसँग जीवन भएकोले जसजसलाई जीवन दिन उहाँ चाहनुहुन्छ उसलाई जीवन दिने अधिकार उहाँसँगै रहेको छ भनेर उहाँले घोषणा गर्नुभएको थियो।
उहाँ जीवनको स्रोत, फोहरा, र झर्ना हुनुहुन्छ। उहाँसँग मात्र अमरत्व, जीवन, र दिव्यज्योति छ। उहाँमा भएको त्यस व्यक्तित्वले गर्दा नै उहाँले यो घोषणा गर्न सक्षम हुनुभएको थियो, “मलाई आफ्नाे प्राण अरूको लागि दिने हक छ साथै यो प्राण फेरि फिर्ता लिने हक पनि छ।“
अमरत्व दिने अधिकार उहाँमा नै निहित छ। मानव जातिको निम्ति ओछ्याउनु भएको आफ्नाे जीवन उहाँले फेरि उठाउनुभयो र मानिसलाई नै दिनुभयो। उहाँले भन्नुभयो, “मचाहिँ तिनीहरूले जीवन पाउन् र त्याे प्रशस्त मात्रामा पाउन् भनेर आएको हुँ।” युहन्ना १०:१०
येशू ख्रीष्ट जीवन आफै हुनुहुन्थ्यो। मृत्युबाट पार हुनुभएको येशूले मृत्युको शक्तिलाई चकनाचुर गर्नुभएको थियो। उहाँ नै हाम्रो प्राणलाई फुर्तिलो बनाउने स्रोत हुनुहुन्छ। गिलियाडमा मलहम छ, र उहाँ हाम्रो चिकित्सक हुनुहुन्छ। हामीमा जीवन होस् भनेर येशूले महा बेइज्जत, अपमान, हेला, तिरस्कार, घृणा सहनुभयो र पीडादायक वेदना सहेर मर्नुभयो। मृत्युलाई पराजित गर्न उहाँले आफ्नाे बहुमुल्य जीवनलाई त्याग्नुभएको थियो। तर उहाँ चिहानबाट बौरि उठ्नुभयो। आफ्नाे जीवनलाई विछ्याएर उठाउनुहुने येशूलाई हेर्न असंख्य स्वर्गदुतहरू आएका थिए। बहालमा लिएको युसुफको चिहानको ढोकामा विजयको उल्लाससाथ, “म नै पुनरुत्थान र जीवन हुँ” भनेर येशूले गर्नुभएको घोषणा ती स्वर्गदुतहरूले सुनेका थिए।
मृत्यु र चिहानमाथि परमप्रभुका सन्तहरूले बिजय प्राप्त गर्नेछन् भन्ने सबुद प्रमाण नै येशूको पुनरुत्थान र स्वर्गमा उचालिनुभएको हो। जसले थुमाको रगतले आफ्ना चरित्रको पोशाकलाई धोएर सेतो बनाउँछन् तिनीहरूको निम्ति स्वर्गको ढोका उघारिनेछ भनेर देखाएको उहाँको प्रतिवद्धता पनि उहाँकै पुनरुत्थान र स्वर्गारोहण हुन्। मानिसको प्रतिनिधित्व गर्दै येशू पिताकहाँ उभिनुभएको थियो। जसले परमप्रभुको स्वरूप वा प्रतिरूपलाई प्रतिबिम्बित गरेको देखिन्छ, तिनीहरू उहाँको महिमामा सहभागी हुनेछन्।
४४