हामी यस आशामा निराश वा लज्जित हुनेछैनौं किनभने परमेश्वरले पवित्र आत्मा दिनुभएको छ र पवित्र आत्माले हाम्रा हृदयहरूमा परमेश्वरको प्रेमलाई सजाइ दिनुभएको छ।
रोमी ५:५
मानव स्वभावले मानिसको हृदय अशुद्ध, दुष्ट, वा खराब छ। यो फोहर छ, “मानिस जस्ताे अशुद्ध प्राणीबाट कहिल्यै केही शुद्ध कुरो निस्कन सक्दैन।“ अय्यूब १४:४ मानिसले जतिसुकै वा जेसुकै आविष्कार गरेपनि पापी मानिसको हृदयलाई सफा गर्न सक्दैन। खोलाहरू शुद्ध वा निर्मल हुनुभन्दा अघि हृदयको मूलस्रोत शुद्ध गरिनुपर्दछ। जो मानिस आफ्नै धर्मकर्म र अथक प्रयासले दश आज्ञाहरूलाई पालन गर्न खोज्छ वा स्वर्ग जान प्रयास गर्छ वा स्वर्गको आनन्दको प्रत्याभुति पाउन खोज्छ त्यो मानिसले असम्भव कदम चाल्न खोजेको हुन्छ। औपचारिक, देखावटि, मुकुण्डोधारी, कानुनले दिएको हुनाले इसाई हुने चलनमा र परम्पराको कारणले इसाई हुने प्रवृत्तिमा सुरक्षा छैन। सच्चा र पक्का इसाई जीवन पुरानोबाट सुधारिएको, आनिबानीमा हेरफेर वा आँशिक परिवर्तन वा सप्रिएको जीवन होइन, तर पुरै चरित्र वा स्वभावमा आमुल परिवर्तन वा कायापलट भएको जीवन हो। स्वार्थ र पापको मृत्यु हुनैपर्छ र पुरै नयाँ जीवन हुनुपर्दछ। तर त्यो परिवर्तन केवल पवित्र आत्माको प्रभावकारी सक्रियताले मात्रै ल्याउन सक्दछ।
संसारका मुक्तिदाताले दिनुभएको मुक्तिलाई पवित्र आत्माले प्रभावकारी बनाउँछ। पवित्र आत्माले नै मानिसको हृदय धोएर चोखो वा शुद्ध बनाउँछ। पवित्र आत्माद्वारा नै मानिसलाई ईश्वरीय स्वभावमा सहभागी गराउन सक्दछ। बंशबाट सारिएको खराब गर्ने बानी र स्वइच्छाले उब्जाएको दुष्ट वा खराब नियतप्रतिको झुकाव र प्रवृत्तिलाई सफा गर्न येशूले पवित्र आत्मालाई उहाँको शक्ति र अधिकार दिनुभएको छ। आफ्नाे चर्चमा उहाँको चरित्र हुनुपर्ने उहाँको चाहना हो र त्यसलाई उहाँको चरित्र वा स्वरूपले सुसज्जित पार्ने काम पवित्र आत्माको हो।
पवित्र आत्माको प्रभावले र उहाँलाई मानिसको हृदयमा काम गर्न दियो भने अरूको ख्याल नगर्ने, लापर्वाहीमा चल्ने, हठी, मनोमानीमा चल्ने र कसैको अधिनमा नबसी बेपत्ता भएर बस्न रूचाउने मानिस गम्भिर हुन्छन् र आत्मनियन्त्रणमा बस्न पुग्छन्। पापले गर्दा कठोर हृदय भएको मानिसले पछुताउ गर्छ र परमप्रभुमा विश्वास नगर्ने अनि उहाँ र उहाँका जनहरूलाई गिल्ला गर्ने मानिस परिवर्तित भएर तिनीहरूलाई प्रेम गर्न थाल्छ। जुवातास खेल्ने जुवाडे, जाँडरक्सी खाने जड्याँहा, व्यभिचारी र कसैको मर्यादा नराख्ने मानिस आफुलाई समाल्न सक्ने हुन्छ, भद्र, शान्त, र शुद्ध र सिधा हुन्छ। विद्रोही भावनाले चल्ने, हठी र जिद्दीवाल नरम र नम्र भएर येशू जस्तै हुन पुग्छ। जब त्यस मानिसको स्वभाव, चरित्र र मिजासमा परिवर्तन आएको हामीले जब देख्छाै, तब उसमा परमप्रभुको शक्तिले पूरा मानिसलाई नै परिवर्तन गर्ने काममा लागिरहनु भएको छ भनेर हामी विश्वस्त हुन सक्छौँ।
जो मानिसले येशूलाई सरल बालकको जस्तो विश्वासले हेर्दछ, उसलाई पवित्र आत्माको माध्यमबाट ईश्वरीय स्वभाव वा प्रतिरूपमा सहभागी बनाइनेछ।
४८