परमेश्वरका आज्ञाहरू मान्ने मानिस परमेश्वरमा नै रहन्छ र उसमा परमेश्वर रहनुहुन्छ। यसरी परमेश्वर हामीमा रहनुहुन्छ भन्ने कुरा उहाँले दिनुभएको आत्माबाट नै हामी थाहा पाउँछौं।
१ यूहन्ना ३:२४
मानिसको आत्मिक वा अध्यात्मिक जीवनमा पवित्र आत्मा, सास, वा प्राण हुन्छ। हामीमा पवित्र आत्मा हुनु भनेकै हामीमा येशू ख्रीष्टको जीवन रहनु हो। जब हामीमा पवित्र आत्माद्वारा येशूले बास गर्नुहुन्छ, हामीमा उहाँले गुणहरू, स्वभाव, र मिजास पाउँछौँ।
जब पवित्र आत्मा मानिसको हृदयमा पस्नुहुन्छ, तब उसले आफ्नाे कुनै कुरामा शेखी, गर्व, र फाइँफुट्टी लगाउँदैन। येशूको निम्ति उसले आफुमा भएका सबै दुर्गुण, स्वार्थी, आफ्नाे भाऊ खोज्ने जस्ता स्वभावहरूलाई रित्याउँछन्। त्यस खाली ठाउँ येशूको प्रेम र मिजासले भरिन्छ।
जो मानिसहरू येशूलाई उहाँको सत चरित्रमा हेर्छन् र उहाँलाई हृदयमा ग्रहण गर्छन्, तिनीहरूले अनन्त जीवन पाएका हुन्छन्। येशू र परमप्रभुको आत्मा हाम्रो हृदयमा विश्वासद्वारा रहन दियौँ भने हामी अनन्त जीवनको यात्रा सुरु गर्छौँ। हामीले येशूलाई प्रतक्ष्य रूपमा देख्दैनौ न त कुरा नै गर्न सक्छौँ, तर पवित्र आत्मा सर्वत्र हुनुहुन्छ। एक ठाउँमा उहाँ हुनुहुन्छ भने अर्को ठाउँमा पनि उहाँ हुनुहुन्छ। जसले येशूलाई ग्रहण गर्छ त्यसको जीवनको भित्र र बाहिर उहाँले काम गरिरहनुहुन्छ। आफ्नाे जीवनमा पवित्र आत्मा रहनुभएको छ भन्ने महसुस गर्नेले उसले उहाँमा भएका लक्षण वा गुणहरू देखाउँदछ। यस मामिलामा पावलले यसरी व्यक्त गर्दछन्, तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्त, धैर्य, दया, भलाइ, विश्वस्त, नम्रता, संयम हुन्। यस्ता कुराहरूका बिरुद्धमा कुनै श्यवस्था छैन। तर तिनीहरू, जो ख्रीष्ट येशूका हुन्, तिनीहरूले पापमय स्वभावलाई त्यसको बासना र लालसासहित क्रुसमा टाँगिदिएका हुन्छन्। गलाती ५:२२–२४
विश्वासीको जीवनमा पवित्र आत्माले निरन्तररूपमा बास गर्ने उहाँको योजना छ। हाम्रा सहयोगी र सान्त्वनाकर्ता हामीमा रहिरहनुभएको छ भन्ने मामिलामा हामी धेरै सजग हुनु आवश्यकता छ। यदि व्यक्तिगत रूपमा यो सत्यलाई बु्झ्न सक्यौँ भने, हामी एक्लै भएको कहिल्यै पनि महसुस गर्नुपर्ने आवश्यता हुँदैन। जब हाम्रो परमशत्रु सैतानले हामीमाथि जाइलाग्छ वा आक्रमण गर्छ, जब अनेकौँ लोभ, लालसा, र विश्वासबाट लडाउने परिक्षाहरू आउँछ तब परमप्रभुमा हाम्रो विश्वासद्वारा विश्राम वा अडेस लाउनु पर्दछ। उहाँले हामीलाई बाचा गर्नुभएको छ कि सैतान र उसका मतियारहरूले हामीसँग गर्ने युद्धमा हामी कहिल्यै पनि एक्लो हुँदैनौँ। पापबाट क्षमा पाएका प्रत्येक व्यक्ति उहाँको नजरमा अत्यन्तै बहुमुल्यको हुन्छ। सारा संसार भन्दा त्यो व्यक्ति अमूल्यको हुन्छ। उहाँको असीमित र अनन्तको मोल तिरेर उसलाई किनेको हुन्छ। जसको निम्ति ख्रीष्ट मर्नुभयो उसलाई उहाँले कहिल्यै त्याग्नुहुन्न।
ख्रीष्टको प्रतिनिधि पवित्र आत्मा हुनुहुन्छ। जब येशूभक्तले पवित्र आत्माको सराहना गर्छ र उहाँको रसास्वाधन गर्छ उसले अरूहरूसँग कुरा गर्दा उसमा अलौकिक उर्जा, जोश, र उमङ्ग उत्पत्न हुन्छ। तिनीहरूमा पवित्र आत्माको अदृश्य तारले वाइरिङ्ग गरेको हुन्छ। उसको पुरै हाउभाउमा विजुलीको तरङ्ग संचार हुन्छ। परमेश्वरको असीमित स्रोतहरूलाई हामी सबैले बुझ्न सकेको भए कस्तो हुने थियो होला?
५०