तर हाम्रा निम्ति त एउटै परमेश्वर पिता हुनुहुन्छ, जसबाट सबै थोक हुन आए, अनि उहाँकै निम्ति हामी जिउँदछौं– हाम्रा निम्ति एउटै प्रभु, येशू ख्रीष्ट हुनुहुन्छ, जसद्वारा सबै कुरा हुन आए, र जसद्वारा हामी जिउँदछौं।
नहूम १ः७
सबै ज्ञानबुद्धिको स्रोत परमप्रभु परमेश्वर हुनुहुन्छ। उहाँको ज्ञान र बुद्धिको सिमाना छैन। उहाँको ज्ञानबुद्धि अनन्तको छ। उहाँ कतिको असल हुनुहुन्छ त्यसको पनि सीमा छैन। ख्रीष्ट बाहेक यस संसारमा रहेका विगतका न त वर्तमान, सबभन्दा ज्ञानी, बुद्धिमानी, र दार्शनिकहरूले उहाँलाई बुझ्न सकेका थिएनन् न त सक्छन् नै। यदि मानिसहरूले एक क्षणमात्रै आफनाे सिमित दृष्टीबाट अलिकति पनि अपार अर्थात् स्वर्गको दर्शन देख्न सक्यो भने वा सनातन परमेश्वरको थोरै झल्को मात्र हेर्न सकेको भए प्रत्येकको घमण्ड वा सेखी गर्ने ओठ बन्द हुन्थ्यो होला। सारा जगत, अन्तरिक्ष, वा आकाश गङ्गाहरूमा यस शुक्ष्म अणुरूपी पृथ्वीमा रहेका मानिसहरू सीमित र नाशवान छन्। सारा जगतका अनगिन्तियौँ पतित नभएका संसारका जीवहरूले परमेश्वरका व्यवस्था र नीतिहरूलाई पालन गर्दछन्, र तिनीहरूले जे गर्छन् त्यो उहाँको महिमा झल्काउन गर्दछन्।
परमेश्वरको नजरबिना यस जगतको कुनै भागमा अलिकति पनि केही हुँदैन। उहाँ सर्वव्यापी हुनुहुन्छ। मानव जीवनमा घट्ने कुनै एउटा सानो घटना घट्दैन जुन उहाँलाई थाहा हुँदैन। सैतानले निरन्तर रूपमा मानव जगतलाई बिगार्न उपायहरू सोचिरहेको हुन्छ, तर ती सबैमाथी परमेश्वरले माथ गर्नुहुन्छ। उहाँमाथी भरोसा राख्ने र उहाँका आज्ञा पालन गर्नेहरूलाई केही हानी हुनेछैन जसले तिनीहरूको अनन्त जीवनलाई असर पार्दछ। जुन शक्तिले उर्लन्दै गरेका समुद्रका छालहरूलाई नियन्त्रण गर्छ त्यही शक्तिले विद्रोह र अपराधको शक्तिलाई नियन्त्रण गर्न सक्नुहुन्छ। जसरी पानीलाई “तिम्रो सीमाना यतिमात्र हो, त्यहाँबाट अलिकति पनि उता नजाऊ” भनेर परमेश्वरले भन्नुहुन्छ त्यसै गरि सैतानको सीमाना उहाँले तोड्नुहुन्छ।
परमेश्वरले आफ्नाे सृष्टिहरूप्रति कस्तो कारोबार गर्नुहुन्छ सो यदि नम्र र विश्वाससाथ सिक्न सक्यौँ भने हामीले जीवन उपयोगी धेरै पाठहरू सिक्न सक्दछौँ। परमेश्वरले मानिसहरूका सन्तानलाई केवल थोरै मात्र गर्न सक्नुहुन्छ किनभने तिनीहरू घमण्ड, अभिमान, र नाश हुने बेकारको मान, इज्जत, महिमा, र कदर खोज्दछन्। आफ्नै बलमा, बुद्धिज्ञानमा बढाइचढाइ गरेर, धेरै दर्शन, वाद, शिक्षा वा डिग्रीहरू हासिल गरेर घमण्ड गर्दै फुल्दछन्। आफुले आफुलाई के न के हुँ भनेर फाइँफुट्टी लगाउँछन्। तिनीहरूका आशा र योजनाहरू भताभुङ्ग पार्न परमेश्वरले आवश्यकता ठान्नुभएको हुन्छ ताकि तिनीहरूले उहाँमाथी मात्र भरोसा राख्न सिकुन्। हामीसँग भएका सबै शक्ति र सामर्थ्य परमेश्वरबाट नै आएका हुन्छन्। उहाँले हामीले दिनुभएको बलबिना अलग भएर केही पनि गर्न सक्दैनौँ। कुन पुरुष वा स्त्री वा बालक होला जसलाई परमेश्वरले समाल्नुहुन्न? कुनचाहीँ उजाड ठाउँ होला जहाँ उहाँले भर्न सक्नुहुन्न? परमेश्वरले नै आपुर्ति गर्न नसकेको मानिसले के चाहना गर्न सक्ला र?
हामी साना बालबालिकाहरू जस्तै परमेश्वरको बारेमा अनजान छौँ। तर जसरी साना बालबालिकाहरूमा प्रेम र स्नेह हुन्छ त्यसरी नै हामीले उहाँलाई प्रेम गर्न सक्दछौँ र उहाँका कुराहरू माग्न सक्दछौँ। उहाँका चरित्र, स्वभाव, शक्ति, वा अधिकारहरूको बारेमा अनेकौँ तर्क र अनुमान लगाउनुको सट्टा उहाँले भन्नुभएको वचनलाई मनमा राख्न खोजौँ “शान्त होओ, र म परमेश्वर हुँ भनी जान। जाती -जातीहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु।” भजन ४६ः १०
५४