यसैकारण म पिताको सामने आफ्ना घुँड़ा टेक्दछु, जसद्वारा स्वर्ग र पृथ्वीमा भएको हरेक परिवारको नाउँ राखिएको छ।
एफिसी ३ः१४ – १५
जब स्वार्थलाई त्यागिन्छ तब परमेश्वरको प्रेमले कसरी काम गर्छ भन्ने धारणा स्पष्ट हुन्छ। परमप्रभु परमेश्वरलाई पिता भनेर सम्बोधन गर्दा उहाँका सबै सन्तान हाम्रा दाजुभाइ दिदीबहिनीहरू भनेर स्वीकार्न पुग्छौँ। हामी सबै जना महान मानव संयन्त्रको एक भाग हौँ। हामी एउटै परिवारका सदस्यहरू हौँ।
परमेश्वरको सामु राष्ट्रियता, जात वा जाती, वर्ण र लिङ्गको बीचमा भेद छैन। सबै मानव प्राणीको सृष्टिकर्ता उहाँ नै हुनुहुन्छ। सृष्टिको कारणले समस्त मानव जगत एउटै परिवार हुन्, र मुक्तिको कार्यद्वारा सबै एक हुन्। मानिस मानिसको बीचमा अलग गर्न ठड्याइएका प्रत्येक पर्खाललाई भत्काउन येशू आउनु भएको थियो। मन्दिरमा भएका पुजारी र सर्वसाधारणलाई छुट्याउने प्रत्येक भागलाई उहाँले च्यात्नुभएको थियो। प्रत्येक मानिस परमेश्वरकहाँ स्वतन्त्रपुर्वक आउन सकोस् भनेर धर्मको नाउँमा मानिसहरूलाई अलग गर्न उभ्याइएका कोठाहरू उहाँले चक्नाचुर गर्नुभएको थियो।
उहाँको दया र प्रेमको उपहार हावा, सूर्यको किरण पृथ्वीलाई ताजा पार्ने वर्षा जस्तो सीमित छैन भनेर देखाउन उहाँ आउनुभएको थियो। उहाँको प्रेम यस्तो फराकिलो, यस्तो गहिरो र यस्तो भरिएको छ कि त्यो जताततै छेडिन्छ। सैतानको जालो र छलको प्रभावमा भौँतारिएकाहरूलाई छुटाएर परमेश्वरको सिंहासन सामु उभ्याउने काम प्रेमले गर्दछ। त्यो सिंहासन प्रतिज्ञाको इन्द्रेणीले घेरिएको हुन्छ भन्ने कुरालाई हामीले बिर्सनुहुन्न।
परमेश्वर हाम्रो पिता र शाषक हुनुहुन्छ। जुन व्यवस्था, नीति वा नियमकानुनले स्वर्ग चल्दछ त्यही व्यवस्था, नीति, वा नियमकानुन पृथ्वीमा पनि लागु हुनुपर्दछ। स्वर्गदूतहरूलाई परिचालन गर्ने त्यही प्रेम, स्वर्गमा लागु भएको त्यही पवित्रता र शुद्धताको प्रतिलिपि सकेसम्म यस पृथ्वीमा पनि उतारिनुपर्दछ।
यदि तपाईँले परमेश्वरलाई तपाईँको पिता भनेर सम्बोधन गर्नुहुन्छ भने तपाईँ उहाँका छोराछोरीहरू हुनुहुन्छ भनेर स्वीकार्नुहुन्छ। उहाँको ज्ञान र बुद्धिद्वारा तपाईँलाई अगुवाइ गर्ने चाहना तपाईँमा हुनुपर्दछ र उहाँले आदेश दिनुभएको सबै आदेशहरू पालन गर्न तपाईँ किठवद्ध हुनुपर्दछ। उहाँको प्रेम अपरिवर्तनीय छ भन्ने कुरामा तपाईँ विश्वस्त हुनुपर्दछ। तपाईँको जीवनमा उहाँको योजना के छ सो तपाईँले सहर्ष स्वीकार्नुहुनेछ। तपाईँ परमेश्वरको सन्तान हुनुभएकोले उहाँप्रतिको श्रद्धा र सम्मानलाई उचालिराख्नु पर्दछ, उहाँको चरित्र, उहाँको परिवार, र उहाँको कामलाई तपाईँले उच्च प्राथमिकता दिने तपाईँको लक्ष्य हुनुपर्दछ। तपाईँको सम्बन्ध पिता र उहाँको परिवारको प्रत्येक सदस्यसँग सम्मानसाथ कायम राख्नु पर्छ भनेर तपाईँले स्वीकार गर्दा आनन्द भएको महसुस गर्नहुनेछ। परमेश्वरको महिमा र मानव प्राणीको हितको निम्ति जुनसुकै सानोतिनो वा मामुली काम गर्न तपाईँलाई बढो मजा र रमाइलो लाग्नेछ।
५८