परमेश्वरको नैतिक व्यवस्था, दश आज्ञा उहाँको चरित्रको वास्तविक प्रतिबिम्ब हो । यसभित्र भएका सिद्धान्तहरू परिस्थिति अनुरूप र अस्थायी नभई अपरिवर्तनीय, स्थायी र अनन्त छन् । दश आज्ञाले परमेश्वरको चरित्र र प्रेमलाई प्रस्तुत गरेझैँ यसले मानवजातिको लागि परमेश्वरको इच्छा र उद्देश्यलाई पनि प्रकट गर्दछ ।
परमेश्वरले मानिसलाई सृष्टि गर्नुभन्दा पहिला नै उहाँको व्यवस्था थियो । स्वर्गदूतहरू यही व्यवस्थाद्वारा सञ्चालित हुन्थे । ब्रह्माण्डमा भएका अरू संसारहरूमाथि परमेश्वरले उहाँको यही व्यवस्थाद्वारा नै शासन गर्नु हुन्थ्यो । लुसिफरले परमेश्वरको शासन गर्ने व्यवस्थाको सिद्धान्तलाई उल्लंघन गरेको कारणले ऊ शैतान बन्न पुगेको थियो । परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुहुँदा नै उहाँको नैतिक व्यवस्था तिनीहरूको हृदय र मस्तिष्कभित्र लेखिदिनुभएको थियो । साथै आफ्ना दूतहरूद्वारा पनि तिनीहरूलाई थाहा गराइएको थियो । आदम र हव्वाले परमेश्वरको व्यवस्था उल्लंघन गरी पापी बन्न पुगेका थिए । तिनीहरू पापमा फसेपछि पनि परमेश्वरले उहाँको व्यवस्थाको धार्मिक सिद्धान्तहरू परिवर्तन गर्नुभएन । व्यवस्थाबाट केही पनि हटाइएको छैन न त एउटा बिन्दु निकालिएको छ । शुरूमा व्यवस्था जस्तो थियो त्यस्तै युग-युग र अनन्तसम्म जारीरहने छ ।
दश आज्ञा परमेश्वरले मोशाद्वारा सिनै पर्वतमा पहिलो पटक दिइएको हो भनी धेरै मण्डलीहरूले प्रचार गरिरहेको पाईन्छ तर व्यवस्था त स्वर्गदेखि नै थियो । स्वर्गमा शैतान र तिनका दूतहरूले यसलाई उल्लंघन गरेका हुनाले तिनीहरू पापी बन्न पुगेका थिए । लुसिफर र तिनका दूतहरूका पापले परमेश्वरको व्यवस्था सृष्टिभन्दा पहिलादेखि नै थियो भन्ने प्रमाण दिन्छ । “स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनीहरूलाई बाँकी राख्नुभएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो, र न्यायको दिनसम्मको निम्ति जकडिराख्नुभयो ।” २ पत्रुस २:४ । परमेश्वरको वचनले भन्दछ, “व्यवस्था भङ्ग नै पाप हो ।” १ यूहन्ना ३:४ । अब्रहामले यही व्यवस्था पालन गरेका थिए भनी बाइबलले भन्दछ । “किनभने अब्रहामले मेरो वचन पालन गऱ्यो, र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको प्रतिपालन गऱ्यो ।” उत्पत्ति २६:५ । यदि सिनै पर्वतमा मोशालाई व्यवस्था दिनुभन्दा अगाडि त्यहाँ परमेश्वरको व्यवस्था, दश आज्ञा थिएन भने अदाम र हव्वा कसरी पापी बन्न पुगे त ? किनकि परमेश्वरको वचनले यसो भन्दछ, “तर जहाँ व्यवस्था छैन त्यहाँ अपराध पनि हुँदैन ।” रोमी ४:१५ । यदि पाप छैन भने येशूको बलिदानको कुनै आवश्यक्ता पर्दैन ।
फेरि, येशू ख्रीष्ट जब क्रूसमा बलिदान हुनुभयो त्यसपछि व्यवस्था रद्द भयो अब इसाईहरूले व्यवस्था पालन गर्नु आवश्यक छैन भनी धेरै मण्डलीहरूले प्रचार गरिरहेका छन् तर यो बिल्कुलै गलत कुरा हो । यदि व्यवस्थालाई परिवर्तन तथा रद्द गर्न मिल्ने भए प्रभु येशू कलवरी क्रूसमा मर्नुपर्ने थिएन । व्यवस्था उल्लंघन पाप हो र पापको ज्यला मृत्यू हो भन्ने कुरा कलवरी क्रूसमा भएको परमेश्वरको निर्दोष पुत्रको मृत्यूले प्रमाणित गरेको छ । परमेश्वर मानिस भई बरू मर्न सक्नुभयो तर उहाँले आफ्नो वचन वा व्यवस्थालाई परिवर्तन गर्न सक्नुभएन । जब प्रभु येशू संसारमा आउनुभयो तब उहाँले यो वचन बोल्नुभयो, “व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ । म ती रद्द गर्न होइन तर पूरा गर्न आएँ । किनभने साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्ने छैन ।” मत्ती ५:१७-१८ । पावलले पनि हामीलाई यही कुरा बताउँदछन्, “तब के हामी यही विश्वासद्वारा व्यवस्थालाई रद्द गर्ने? कदाचित् होइन! बरु हामीहरू त व्यवस्थालाई कायम पो राख्छौं ।” रोमी ३:३१ । परमेश्वको पुत्रको कलवरीको मृत्यूले केवल सारा पतित संसारको अगाडि मात्र नभई स्वर्ग र पतित नभएको संसारहरूको अगाडि व्यवस्था पवित्र, न्यायसँगत, सत्य र अटल छ भनी प्रमाणित गरेको छ ।
परमेश्वरको व्यवस्था, दश आज्ञाले पापलाई देखाउँछ । दश आज्ञाविना मानिसहरूले परमेश्वरको पवित्रता, तिनीहरूको आफ्नो दोष र तिनीहरूले गर्नुपर्ने पश्चात्तापलाई सफासँग देख्न सक्दैनन् । पावलले यसो भन्दछन्, “यदि व्यवस्था नभए मैले पाप थाहा पाउने थिइनँ, किनकि “तैंले लोभ नगर् ।” भनी व्यवस्थाले नभनेको भए लोभ गर्नु के हो सो थाहा पाउने थिइनँ ।” रोमी ७:७ । मानिसहरूले आफ्नो वास्तविक अवस्था थाहा पाउन तिनीहरूको लागि व्यवस्थाले एउटा ऐनाको रूपमा काम गर्दछ । मानिसको आत्मिकी स्वरूपलाई यो व्यवस्थाको आत्मिकी ऐनाले स्पष्ट देखाउने काम गर्दछ । याकूब १:२३-२५ । जसले परमेश्वरको व्यवस्थामा हेर्छ उसले परमेश्वरको सिद्ध चरित्रको अगाडि आफ्नो दागले भरिएको फोहोर चरित्रलाई देख्छ । परमेश्वरको नैतिक व्यवस्थाले सारा संसार उहाँको सामु दोषी छ भनी देखाउँछ र सबैलाई उहाँको सामु जवाफदेही बनाउँछ । “अब हामी जान्दछौं, जे-जति व्यवस्थाले भन्छ, व्यवस्थामुनि हुनेहरूलाई नै भन्छ, कि हरेक मुख चूप रहोस्, र सारा संसार परमेश्वरको अगि जवाफदेही होस् ।” रोमी ३:१९ । जब हामीले आफ्नो साँचो चरित्रलाई देख्छौं तब हामीले थाहा पाउँछौं, कि हामी पापी हौं र मृत्युको डोरीले बाँधिएका छौं । त्यसबाट मुक्त हुनको लागि व्यवस्थाले मुक्तिदाताको आवश्यक्तालाई देखाउँछ । त्यसैले व्यवस्थाले हामीलाई ख्रीष्टसम्म डोऱ्याउँछ ताकि हामीले उहाँको सहायताद्वारा पाप र मृत्युको बन्धनदेखि स्वतन्त्रता पाओस् । “विश्वासद्वारा हामी धर्मी ठहरिन सकौं भनेर व्यवस्थालाई हाम्रो संरक्षक भई ख्रीष्टसम्म डोऱ्याउने जिम्मा दिइयो ।” गलाती ३:२४ ।
बाइबलमा हामीले २ वटा व्यवस्थाहरू पाउँछौं । परमेश्वरको व्यवस्था र मोशाको व्यवस्था (दानिएल ९:११) । परमेश्वरको व्यवस्था अर्थात् दश आज्ञाचाहिँ अनन्त र अपरिवर्तनीय छ भने मोशाको व्यवस्थाचाहिँ केवल ख्रीष्टको कलवरीको क्रूसको बलिदान सम्मको लागि मात्रै कायम रहेको थियो । किनभने मोशाको व्यवस्थाले अर्थात् बलिदानको विधिले संसारको पाप उठाईलैजाने परमेश्वरको थुमा, येशू ख्रीष्टको साँचो बलिदानलाई प्रतिनिधित्व गर्दथ्यो । सयौं वर्ष पहिले नै मसीहको मृत्युद्वारा बलिदानको विधि समाप्त हुनेछ भनी दानिएल अगमवक्ताले अगमवाणी गरेका थिए (दानिएल ९:२७) । येशू ख्रीष्टको कलवरी क्रूसको बलिदानपछि मोशाको व्यवस्था जुनचाहिँ बलिदानको विधि हो त्यो समाप्त भएको छ ।
भविष्यवाणीले हामीलाई यो बताईरहेको छ, कि संसारको अन्तिम समयमा शैतानले अधिकांश मानिसहरूलाई परमेश्वरको व्यवस्था उल्लंघन गर्न अनाज्ञाकारीता तर्फ डोऱ्याउनेछ । “त्यो प्राचीन सर्प, जो दियाबलस वा शैतान हो ।” प्रकाश १२:९ । शैतानले जहिले पनि परमेश्वरको व्यवस्थालाई घृणा गर्छ । स्वर्गमा उसले यसको विरोध र उल्लंघन गरेको थियो । अदनको बगैंचामा पनि आदम र हव्वालाई परमेश्वरको व्यवस्था उल्लंघन गर्न बहकाएको थियो । दानिएलले देखेका चार वटा पशुहरूको दर्शनमा चौथो पशु जसको दश वटा सीङ थियो । त्यस मध्येबाट एउटा सानो सीङ आएको थियो । त्यही सानो सीङले नै परमेश्वरको व्यवस्थालाई परिवर्तन गर्नेछ भनी दानिएल ७:२५ मा भविष्यवाणी गरिएको थियो । त्यो सानो सीङचाहिँ पोपतन्त्र हो ।
भविष्यवाणी अनुरूप नै क्याथोलिक मण्डलीले परमेश्वरको व्यवस्था, दश आज्ञालाई परिवर्तन गरेको छ । क्याथोलिक मण्डलीले चौथो आज्ञा सातौं दिन शबाथलाई हप्तको पहिलो दिनमा, सूर्यको पूजा गर्ने दिनमा सारेको छ । त्यसले मानिसहरूलाई झूटो शबाथ मान्न सिकाएको छ । पृथ्वीको अन्तिम लडाईं नै सातौं दिन शनिवार साँचो शबाथ र आईतवार झूटो शबाथ बीच हुनेछ । हरेक मानिसहरू जाँचिनेछन् । आज्ञाकारी हुने वा अनाज्ञाकारी हुने भन्ने प्रश्नमा सम्पूर्ण संसारद्वारा निर्णय गरिनेछ । परमेश्वरको व्यवस्था र मानिसको कानूनको बीचमा एकलाई सबैले छान्नुपर्ने हुन्छ । यो विषयमा सारा इसाई जगत दुई वटा मूख्य वर्गमा विभाजित हुनेछ । “शबाथचाहिँ वफादारीताको ठूलो जाँच हुनेछ किनभने सत्यताको यो तथ्य विवादास्पद छ । विशेषरूपले जब मानिसहरूलाई भोग्नको निम्ति अन्तिम जाँच ल्याइनेछ, तब परमेश्वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेहरू चिनिनेछन् । जब एउटा वर्गले पृथ्वीको अधिकारप्रति समर्पणताको चिन्ह स्वरूप उक्त पशुको छाप ग्रहण गर्नेछ, तब अर्को वर्गले ईश्वरीय अधिकारप्रति भक्तिको मार्ग छान्दै, परमेश्वरको छाप ग्रहण गर्नेछ ।” महान् विवाद ६०५
येशू खीष्टको दोस्रो आगमनसम्मै परमेश्वरको व्यवस्थामाथि शैतानको हमलाले यो प्रमाणित हुन्छ, कि मुक्तिको योजनामा अझै परमेश्वरको व्यवस्थाको उल्लेखनीय भूमिका रहेको छ । ख्रीष्टको आगमनलाई पर्खिरहने परमेश्वरका जनहरूले उहाँको व्यवस्थालाई पूर्णरूपमा पालन गर्नुपर्ने हुन्छ । “जुनहरूले परमेश्वरका आज्ञाहरू पालन गर्दछन्, र येशूको गवाही दिन्छन् ।” प्रकाश १२:१७ । व्यवस्थाको पालनद्वारा मानिसले मुक्ति कमाउन सक्दैन ।