bookइतिहासका अन्तिम पानाहरू
स्त्री
प्रकाश अध्याय १२

स्त्री

“त्यस स्त्रीले सारा जातिलाई फलामको डन्डाले शासन गर्ने एउटा छोरो जन्माई । त्यसको बालक परमेश्वरकहाँ उठाइएर उहाँको सिंहासनमा लगियो ।”

प्रकाश १२:५

प्रकाश १२ अध्यायले भविष्यवाणीको ३ वटा महत्त्वपूर्ण संकेतहरूको वर्णनलाई प्रस्तुत गर्दछ । त्यो संकेतचाहिँ स्त्री, जन्मिन लागेको बालक र ठूलो रातो अजिङ्गर हो । प्रकाशको पुस्तकमा पवित्र स्त्री (प्रकाश १२:१, २, ५) र वेश्या स्त्री (प्रकाश १७:१-३) गरी २ किसिमको स्त्रीहरूको चरित्र चित्रण गरिएको पाउँछौं । बाइबलमा चित्रण गरिएको पवित्र स्त्रीले परमेश्वरको साँचो र पवित्र मण्डलीलाई जनाउँदछ (प्रकाश १२:१, २, ५; यर्मिया ६:२) । अनि अर्को वेश्या स्त्रीले पतित धर्मत्यागी मण्डलीलाई जनाउँदछ (प्रकाश १७:१-३; यर्मिया ३:२०) ।

प्रकाश १२:१ पदमा चित्रण गरिएको सूर्य पहिरिएकी स्त्रीले परमेश्वरको साँचो र पवित्र मण्डलीको प्रतिनिधित्व गर्दछन् । “सूर्य” ले येशूको सुसमाचारको महिमालाई वितरण गरिएको र उहाँको धार्मिकताको प्रतिनिधित्व गर्दछ । “किनकि परमप्रभु परमेश्वर सूर्य र ढाल हुनुहुन्छ ।” भजनसंग्रह ८४:११; मलाकी ४:२ । “पाउमुनिको चन्द्रमा” ले परमेश्वरले मोशाद्वारा दिनुभएको पुरानो करारको बलिदान सम्बन्धी पवित्रस्थानको विधिलाई संकेत गर्दछ । जसरी सूर्यको प्रकाशलाई चन्द्रमाले प्रतिबिम्बित गर्छ त्यसरी नै पुरानो करारको बलिप्रथाले येशू ख्रीष्‍टको साँचो बलिदानलाई प्रतिबिम्बित गर्दछ । “शिरमा १२ वटा ताराको मुकुट” ले १२ जना प्रेरितहरू अथवा १२ कुलपिताहरूलाई संकेत गर्दछ ।

यस अध्यायको चित्रभित्र तीन वटा मुख्य कुराहरू प्रकट हुन्छन् । १) बच्चा पाउन लागेकी स्त्री । २) स्त्रीको विरुद्धमा घृणा र खेदो गर्ने अजिङ्गर । ३) परमेश्वरका आज्ञा मान्ने र येशुको गवाही दिने त्यस स्त्रीका बाँकी सन्तानहरूसँग युद्ध गर्ने शैतान ।

ती स्त्री जन्माउने अवस्थाको पिडामा, प्रसववेदनाले चिच्याइरहे-की थिइन् । “त्यस स्त्रीले सारा जातिलाई फलामको डन्डाले शासन गर्ने एउटा छोरो जन्माई ।” प्रकाश १२:५ । त्यो बालकले लामो समयदेखि आशा गरिएको “मसीह” लाई नै जनाउँदछ, जुन हामीले यशैया ७:१४ र यूहन्‍ना २०:३१ पदहरूमा देख्‍न सक्छौं । उहाँले एकदिन सारा संसारमा फलामको डण्डाले शासन गर्नुहुनेछ । उहाँले रगतमा चोबलिएको पोशाक पहिरनु भएको थियो, र उहाँको नाउँ “परमेश्वरको वचन” थियो । स्वर्गका सेनाहरू सेता र स्वच्छ मलमलका वस्त्र पहिरिई सेता घोडाहरूमा चडेर उहाँको पछिपछि लागे । जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले फलामको डन्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ ।” प्रकाश १९:१३-१६ । “त्यसको बालक परमेश्वरकहाँ उठाइएर उहाँको सिंहासनमा लगियो ।” प्रकाश १२:५ । त्यो बालक येशू हुनुहुन्छ जो हाम्रो पापको निम्ति बलि हुनुभयो तर मृत्युबाट तीन दिनपछि बौरीउठ्‍नुभयो र स्वर्गमा उचालिनुभयो (प्रेरित १:९-११) ।

सतावटको कारणले ती स्त्री १२६० अगमवाणी सूचक दिन अर्थात् १२६० वास्तविक वर्षहरूसम्मको लागि उजाड स्थानमा भाग्‍नै पर्ने थियो । जहाँ परमेश्वरले त्यसको लागि ठाउँ तयार गरी राख्‍नुभएको थियो (प्रकाश १२:६) । त्यही समयावधिलाई प्रकाश १२:१४ पदमा “समय, समयहरू र आधा समय” भनी लेखिएको छ । यी दुवै समयको सन्दर्भले सन् ५३८ देखि सन् १७९८ सम्म, १२६० वर्ष परमेश्वरको मण्डलीमाथि पोपतन्‍‍त्रको सतावटलाई जनाएको भनेर इतिहासले गवाही दिन्छ । (The Victories of Rome and the Temporal Monarchy of the Church, 5th edition, By Kenelm Digby Best, London, 1906, pg. xii.)

१२६० वर्षको अवधिमा करीब ५ करोड मानिसहरूलाई शैतानले पोपतन्‍‍त्र मार्फत मारेको थियो । यद्यपि त्यस समयावधिमा मण्डलीहरू जीवित त थिए तर सांगठनिक रूपमा संगठित भने थिएनन् । धार्मिक न्यायाधिकरणको नाममा पोपतन्‍‍त्रले परमेश्वरका जनहरूलाई खेदो गऱ्यो । शैतानले आफ्‍नो एजेन्ट रोमी पोप मार्फत आफ्‍नो क्रोध पोखाइ रह्‍यो । सतावटमा परेको मण्डलीलाई शरण दिने शरणस्थलको रूपमा पृथ्वीको चित्रण गरिएको छ (प्रकाश १२:१४, १६) । सत्य कुरा या हो कि संसारमा परमेश्वरको एउटा विश्वासयोग्य र आज्ञाकारी मण्डली सधैं थियो, जसले केवल उहाँको सत्यता, धार्मिकता र दश आज्ञालाई पक्रिरहेको थियो । यो कुरालाई त्यो १२६० वर्ष सम्मको लामो सतावटले प्रमाणित गरेको छ । त्यो वफादार र आज्ञाकारी मण्डली संसारमा अहिले पनि रहेको छ । जसलाई “रेमनेन्ट मण्डली” अर्थात् “शेष मण्डली” वा बाँकी रहेको मण्डली भनेर भनिन्छ (प्रकाश १२:१७) । अजिङ्गरले क्रमिकरूपमा त्यस स्त्री र तिनका बाँकी सन्तानहरूलाई सतायो । किनभने ती स्त्री परमेश्वरप्रति सत्य र वफादार थिइन्, उहाँको आज्ञा पालन गर्थिन् र येशूको गवाही बाँड्थिन् । येशूको गवाहीलाई बाइबलले प्रकाश १९:१० पदमा “अगमवाणीको आत्मा” भनी परिभाषित गरेको छ । त्यसको अर्थ त्यो अन्तिम शेष मण्डलीसँग अगमवाणीको वरदान अर्थात् साँचो अगमवक्ता हुनुपर्दछ । (१ कोरोन्थी १:५-८ पदहरूले त्यो महत्त्वपूर्ण विषयलाई प्रमाणित गर्दछ । हेर्नुहोस् एफिसी ४:११-१३; १ यूहन्‍ना ४:१; १ थेसलोनीकी ५:२०-२१; मलाकी ४:५, ६; आमोस ३:७) ।

previous
अघिल्लो
अर्को
previous
chat