बोकाको आँखाहरूका बीचमा उम्रेको ठूलो सीङ भाँचिएको थियो (दानिएल ८:८) । त्यसले ग्रीस साम्राज्यको शासक अलेक्जेण्डर महान्लाई जनाउँदछ । अलेक्जेण्डरको आफ्नो शक्तिको चरम सीमामा ३३ वर्षको कलिलो उमेरमै मृत्यु भएको थियो । विजयमा हासिल गरेका ती राष्ट्रहरूले यो खबरलाई विश्वास गर्न सकेका थिएनन् । हामीले अघिल्लो पाठ “चितुवा” मा चार वटा टाउकाहरू भएको चितुवाले अलेक्जेण्डर महान्को मृत्युपछि उसका चार कप्तानहरूद्वारा ग्रीस साम्राज्य चार भागमा विभाजन भएको कुरा अध्ययन गऱ्यौं । त्यही कुरालाई बोकाको ठूलो सीङ भाँचिएपछि अरू चार सीङहरू उम्रिएका कुराले जनाउँदछ । “तिनीहरू मध्येबाट अर्को एउटा सीङ आयो जो सानोबाट शुरू भयो तर दक्षिणतिर र पूर्वतिर र सुन्दर भूमितिर शक्तिशाली हुँदै बढ्दै गयो ।” दानिएल ८:९ । त्यो सानो सीङचाहिँ रोम हो (दुवै स्थितिमा: प्राचीन मूर्तिपूजक रोम र पोपतन्त्रीय रोम) ।
पिड्नाको निर्णायक युद्धमा (ई.पू. १६८ मा भएको) रोमले माकेडोनियालाई परास्त गरेको थियो, जुनचाहिँ अलेक्जेण्डरको साम्राज्यको पश्चिमी क्षेत्रको मुख्य भाग थियो । पिड्नाको युद्धको बारेमा इतिहासकार मायर्स (Myers) ले यसरी भन्दछन्, “विश्वमा आफ्नो प्रभुत्व जमाउने संघर्षमा रोमले सबैभन्दा निर्णायक युद्ध पिड्नामा लडेको थियो ।” त्यसको ७ वर्षपछि ई.पू. १६१ मा अगमवाणी अनुसार रोम आफ्नो संगठित शक्ति लिएरयहूदीहरू सँगलड्न मैदानमा आयो । माकेडोनियामाथि विजय गर्नुभन्दा धेरैवर्ष पहिले अगमवक्ताले दर्शनमा देखे अनुसार नै अलेक्जेण्डरको साम्राज्यको एक भागबाट रोमी साम्राज्यको उदय भयो र रोमी साम्राज्यबाटै पोपतन्त्रीय रोमको उदय भयो ।
यस अध्यायको सानो सीङ सिरियाको एन्टैअकस एपिफानेस राजा हो भन्ने विचारहरू कहिले काहिँ धेरै व्यक्तिहरूले व्यक्त गर्दछन् तर यो गलत कुरा हो । यसमा विवाद गर्नुपर्ने कुनै कुरा नै छैन किनभने जब रोमीहरूले यो राज्यमाथि विजय प्राप्त गरे तब एन्टैअकसले रोमीहरूलाई सबै कुराको कर तिर्ने गर्दथ्यो । यसकारण यो सानो सीङले एन्टैअकसलाई होइन रोमलाई नै संकेत गर्दछ । सिरिया ई.पू. ६५ मा रोमी साम्राज्यको एउटा प्रान्त हुन गयो । यहूदियालाई ई.पू. ६३ मा रोमले दखल पाऱ्यो र मिश्र देश ई.पू. ३० मा रोमको एउटा प्रान्त हुन गयो । “राजकुमारहरूका राजकुमारको विरुद्धमा त्यो खडा हुनेछ ।” दानिएल ८:२५ । यसले रोमी शक्तिद्वारा पन्तियस पिलातस भन्ने व्यक्तिले येशू ख्रीष्टलाई मृत्युको निम्ति सुम्पेको कुरालाई जनाउँदछ । तिबेरियस कैसरको शासनकालमा सन् ३१ मा मुक्तिदाता येशू ख्रीष्टलाई क्रूसमा झुण्डाइएको थियो । “त्यसले अचम्मको विध्वंस ल्याउनेछ ।” दानिएल ८:२४ । यसले सन् ७० मा यरूशलेमको विनाशको बेलामा रोमीहरूले (प्राचीन मूर्तिपूजक रोम) करीब ११ लाख यहूदीहरूलाई सर्वनाश गरेको कुरालाई संकेत गर्दछ ।
पोपतन्त्रीय स्वरूपमा खडा भएपछि रोमीहरूले लाखौं-लाख परमेश्वरका जनहरूलाई मारेका थिए । पोपतन्त्रीय रोमले पनि सत्यलाई भुइँमा फ्याँकिदियो र गरो सबै काममा त्यो सफल भयो (दानिएल ८:१२, २४) । पोपतन्त्रले परमेश्वरको सत्यलाई खुट्टामुनि कुल्चिदियो । यसका केही उदाहरणहरू तल दिइएका छन् ।