त्यसपछि मैले हेरें र त्यहाँ मेरो अगाडि अर्को पशु थियो, जुनचाहिँ चितुवाजस्तै देखिन्थ्यो । अनि त्यसको पिठिउँमा चराको जस्तै चार वटा पखेटाहरू थिए । त्यस पशुका चार वटा टाउकाहरू थिए, र त्यसलाई शासन गर्ने अधिकार दिइयो ।” दानिएल ७:६। यो चितुवाजस्तै पशुले ग्रीस साम्राज्यलाई जनाउँदछ । माकेडोनियाका प्रख्यात शासक र विश्व विजेता अलेक्जेण्डर महान्को शासनकालमा त्यो साम्राज्यको उदय भएको थियो । चितुवाको प्रमुख विशेषताचाहिँ छिटो दौडन सक्नु हो । चितुवाको ढाडमा भएका चार वटा पखेटाहरूले अझै तीव्रता थपेको संकेत गर्दछ ।
अलेक्जेण्डर महान्ले जस्तो अति तीव्रताका साथ विशाल र विश्व हल्लाउने ठूलो शक्तिमा जुलुश निकाल्ने अरू कुनै शासक थिएनन् । ग्रीस साम्राज्यको तीव्र आन्दोलन प्रसिद्ध र शक्तिको शिखरमा पुगेको थियो । यो प्रसिद्धता प्राप्त गराउने अलेक्जेण्डर महान् विश्वको इतिहासमा अद्वित्तीय व्यक्ति हुन् । अलेक्जेण्डरले एशियामा पाएको विजयको तीव्रता अचम्मको थियो । उनले कमजोर बन्दै गएको मादी र फारसी साम्राज्यमाथि बम पड्केजस्तै एक्कासी यसरी विस्फोट गराए कि सबै विरोधीहरू निकम्मा हुन पुगे । सेनाहरूको विराट फौज तयार गरेर तिनको विरोधीहरू सामना गर्न त आए तर तिनीहरूलाई घामले हिउँ पगालेजस्तै बनाइदिए । ग्रेनिकसमा (Granicus) ई.पू. ३३४ मा भएको युद्धहरू, त्यसपछिका वर्षहरूमा जारी युद्धहरू र अन्तमा ई.पू. ३३१ मा अर्बेलामा भएको युद्धद्वारा मादी र फारसी साम्राज्यको भाग्य तय भयो । मादी र फारसी साम्राज्यलाई पराजित गरी अलेक्जेण्डरले फराकिलो ग्रीस साम्राज्यको स्थापना गरे । अलेक्जेण्डर महान् विश्वको इतिहासमा सायद, सबैभन्दा कमउमेरमा सम्राट हुन् । तिनले करीब २५ वर्षको कलिलो उमेरदेखि ३३ वर्षको उमेरसम्म युद्ध गरे । लगभग ३२ वर्षको हुँदा, आगोजस्तै दन्केको युद्धको गतिलाई रोकेर विश्राम लिए र पहिलो पटक आदर र सम्मानको भेटी तिनको सिंहासनको सामुन्ने ल्याउन राष्ट्रहरूलाई अवसर दिए । तिनीहरू पृथ्वीको पल्लो छेउदेखि तिनको रीसको प्रायश्चित्त गर्न, तिनको महान्ताको खुशियाली मनाउन अथवा आफ्नो सुरक्षाको लागि सम्राटकहाँ आए । ३३ वर्षको कलिलो उमेरमै सम्राट अलेक्जेण्डरको मृत्यु भएको थियो । ती पशुका चार वटा टाउकाहरू थिए भन्ने कुराले अलेक्जेण्डरको मृत्युपछि ग्रीस साम्राज्यचाहिँ ठीक चार अलग-अलग भागमा विभाजन भएको घटनालाई जनाउँदछ । अलेक्जेण्डर मर्ने बेलामा तिनले यो प्रश्न सोधेका थिए कि “अब यो ठूलो साम्राज्य चलाउन कसलाई दिने?” अनि उत्तरचाहिँ सबैभन्दा बलियो वा शक्तिशाली व्यक्तिलाई दिने भन्ने थियो । अलेक्जेण्डरको मृत्युपश्चात्त तिनका सेनापतिहरूले एक आपसमा लडाइँ गरी साम्राज्यलाई टुक्रा-टुक्रा बनाए । राजाको आफन्तहरू, रानीदेखि लिएर प्यारी राजकुमारी, र राजकुमार (जुनचाहिँ अलेक्जेण्डरको मृत्युपछि जन्मेका थिए) हरूलाई राजाको मृत्यु भएको १५ वर्षभित्र मारिएको थियो । अन्तमा, अलेक्जेण्डरको मृत्यु भएको २२ वर्षपछि ई.पू. ३०१ मा यो विशाल साम्राज्य तिनका चार ठूला सेनापतिहरूसँगै चार अलग-अलग भागमा विभाजन हुन पुगेको थियो ।