यस्ताे समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुनन चाहनेछन् र आफ्नाे रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्, र सत्य कुरा सुननदेखि तर्किजानेछन्, काल्पनिक तथा दन्त्यकथाहरूतिर बरालिनेछन्।
२ तिमोथी ४:३-४
आफ्नै आत्मनिर्णयले रोजेका झण्डाहरूमुनि मानिसहरू द्रुतगतिमा लस्कर लागिरहेकाछन्। तिनीहरूका अगुवा, शासक वा नेताहरूले के के न गर्ला भनेर तिनीहरूका चालहरूलाई मानिसहरूले वेचैन भएर हेरिरहेकाछन् र पर्खिरहेकाछन्। येशूभावानामा लागिरहेका कतिपय भक्तहरू हाम्रा प्रभुको आगमनको निम्ति हेरिरहेकाछन्, चनाखो र तयार भएर बसिरहेकाछन् र सक्रिय भएर काम गरिरहेकाछन् भने, परमेश्वरबाट भ्रष्ट हुने पहिलो सेनापति वा अग्रज सैतानको पछि कतिपय मानिसहरू लस्कर लागिरहेकाछन्। तिनीहरू मानवीय विज्ञान, दर्शन वा धर्महरूमा भएका भगवान वा अग्रजहरूलाई हेरिरहेकाछन् र खोजिरहेकाछन्। तिनीहरूले चाहेका अनुसार ती अग्रजहरू प्रस्तुत हुन सैतानले तिनीहरूको व्यक्तित्व धारणा गर्दछ। सत्यलाई तिरस्कार गर्ने संसारका असंख्य मानिसहरू अलमलमा वा सैतानको छलमा पर्नेछन्। तिनीहरूले परमेश्वरको नक्कललाई सहस्र स्वीकार गर्नेछन्। मानवीयतावाद नै परमेश्वर हो भनेर ती मानिसहरूले गर्व गर्नेछन्।
मानिसहरूलाई धोखा दिन, छल गर्न, गलत अगुवाइ गर्न र परमेश्वरबाट पन्छाउन सैतानले अनेकौँ चालबाजीहरू खेल्न सधैँ तत्पर हुन्छ र मानिसहरूलाई कसरी भड्काउने भनेर चनाखो भएर बसिरहेको हुन्छ। परमेश्वरको वचन र आज्ञाहरूबाट बिचलित पार्ने सैतानले मानिसहरूलाई अनेकौँ रमझम र मोहनी लगाएर फराकिलो बाटोमा लान आकर्षित गरिरहेको छ। मानिसहरूका ज्ञानेन्द्रिय तत्वहरूमा (स्पर्श, जिब्रो, छाला, आँखा, नाक, मगज) गलत तत्वहरू घुसाएर तिनीहरूलाई भ्रष्ट र भ्रममा पार्न प्रयास गरिरहेको छ। बाइबलमा दिएका कुन ठिक बाटोमा जाने हो भनेर औँल्याउने सत्य शिक्षादीक्षाका स्मारकहरूलाई हटाएर झुटो र रहरलाग्दो शिक्षादीक्षा, वाद र दर्शनहरूलाई सैतानले स्थापना गरिरहेको छ।
तपाईं हिँडिरहनुभएको साँघुरो र सिधा बाटोबाट फर्काउन अनेकौँ झुटा शिक्षक, अगुवा र धर्मगुरुहरूलाई सैतानले प्रयोग गर्न प्रयास गर्दछ। तिनीहरूदेखि होशियार हुनुहोस। तिनीहरू बाहिर भेँडाका लुगाहरू लगाएर आउँछन्, तर यथार्थमा तिनीहरू खुँखार र हिँस्रक ब्वाँसाहरू हुन्।
तिनीहरूको मनमुग्ध पार्ने भाषण, प्रवचन र बोली, प्रतिष्ठा र पाइरहेका उच्च सम्मानहरूको आधारमा तिनीहरू ठिक छन् भनेर प्रभु येशूले हामीलाई सिकाउनुभएको छैन। तिनीहरूलाई मुल्याङ्कन गर्दा परमेश्वरको वचनलाई नै आधार मानेर गर्नुपर्दछ। यस मामिलामा हितोपदेशले हामीलाई यस्तो सल्लाह दिन्छ, “ए मेरो छोरो, अर्ती सुन्न छोड्यौ भने, तिमी ज्ञानका वचनहरूदेखि बहकिनेछौ।“ हितोपदेश १९:२७। ती शिक्षक, दार्शनिक, धर्मगुरुहरूले कस्तो खालको सन्देश तपाईंहरूको सामु ल्याइरहेका छन्? के तिनीहरूको सन्देशले तपाईंहरूलाई परमेश्वरप्रति भय, श्रद्धा र आदर देखाउन अगुवाइ गर्छ र? तपाईंहरूले परमेश्वरलाई प्रेम गर्नुहुन्छ भनेर प्रमाणित गर्न उहाँका आज्ञाहरू पालन गराएर उहाँप्रति बफादार हुन के तिनीहरूले सिकाइरहेकाछन् त?
यी झुटा वा परमेश्वरको सत्य वचनबाट लघार्न खोज्ने धर्मगुरु, विद्वान र प्रचारकहरू चर्चबाट नै उब्जिएको हुन्छ। तिनीहरूले परमेश्वरका धेरै कर्मठ विश्वासीहरूलाई तिनीहरूको विश्वासबाट भड्काइरहेका छन्। ती धर्मगुरू, धार्मिक विद्वान र प्रचारकहरू कस्ता छन् भनेर प्रेरित पत्रुसले यसरी जिकिर गर्छन्, “तिनीहरू पानी नभएका मुहानहरू हुन्, आँधीले उड़ाएका तुवाँला हुन्। तिनीहरूका निम्ति पातालको अन्धकार साँचिएको छ।”
तिनीहरू मुर्खतापूर्ण ठुला-ठुला अहङ्कारका कुरा हाँक्छन्, र कुमार्गबाट भर्खरै उम्केर आएकाहरूलाई शरीरका विलासमय कामवासनाका कुराले फसाउँछन्। तिनीहरूलाई स्वतन्त्रता दिलाइदिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफै भ्रष्ताटका दास छन्, किनकि जुन कुराले कुनै मानिसलाई जित्छ “त्यही कुराले त्यसलाई दास बनाउँछ। २ पत्रुस २:१७-१८।
के हाम्रा खुट्टाहरू कहिले नहल्लिने परमेश्वरको वचनमा गाडिएका छन्? के हामी परमेश्वरका दश आज्ञाहरू र येशूमा भएको विश्वासको विरुद्धमा प्रतिकारमा जान वा प्रतिरक्षा गर्न अडिग हुन हामी तयार छौँ त?
३१७