“समपूर्ण पवित्र-शासत्र बाइबल परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सचयाउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुनछ,”
२ तिमोथी ३:१६
बाइबल प्रभुको वचन हो भनेर प्रतिवद्धता जनाउँदा दुवै पुरानो र नयाँ करार एउटै बाइबल हो भनेर स्वीकार्नु जरुरी छ। पुरानो करार नभए नयाँ करार पूरा हुँदैन न त नयाँ करार नभए पुरानो करारको कुनै अर्थ छ।
कतिपय इसाईहरूले पुर्वाग्रह राखि पुरानो करार केवल यहुदी जातिलाईमात्र दिएको र त्यसको औचित्य अहिले छैन भनेर सिकाउँदछन्। तर केवल एक जातिको निम्तिमात्र प्रभु बोल्नुभएको थिएन भन्ने परिवेशमा पुरानो करार पनि नयाँ करारलाई जस्तै ध्यान दिएर पढ्नु जरुरी छ। पूर्वाग्रह र अल्पज्ञानले ग्रसित मानिसहरू पुरानो करार पढ्दा तिनीहरूले त्यहाँ मरुभुमिमात्र देख्दछन्। तर जब हामी यो परमेश्वरको शाश्वत वा िनस्तर वचन हो भनेर हृदय, दिमाग र आत्मा जुरुमुराउँदै अध्ययन गऱ्याे भने त्यसमा जीवित पानीको मुहानको फोहरा उर्लेर आउँदछ।
पुरानो करार र नयाँ करारको बीचमा कुनै पनि विभेद, बेमेल र असहमति छैन। पुरानो करारमा मुक्तिदाताको आगमनको सुसमाचार हामी पाउँछौँ। नयाँ करारमा मुक्तिदाताको सुसमाचार पुरानो करारका भविष्यवाणीहरू मार्फत प्रकट भएको हामी पढ्छौँ। विभिन्न पशुबलि, मन्दिरमा गरिने संस्कार र विधिहरूले निरन्तररूपमा येशुको सत्य बलि वा भेटीहरूलाई प्रतिक वा नकलको रूपमा औँल्याइरहेका थिए भने नयाँ करारले येशुको सकल कार्यविधि वा उहाँको आफ्नै बलिले पुरानो विधिहरूलाई सम्पन्न गर्नुभएको थियो भनेर देखाउँदछ। यहुदी युग वा पुरानो करारको महिमा धमिलो थियो। तब जब येशु आउनुभयो तब त्यस करार चहकिलो, उच्च र स्पष्टरूपमा व्याख्या गर्न पुगेको थियो। येशुको युग वा नयाँ शताब्दीको थालनीले पुरानो करारको गरिमालाई चम्काइ दिएको थियो।
पुरानो करारका पुर्खा वा हस्तीहरूलाई विभिन्न बलिप्रथा, धार्मिक व्यवस्थाहरू वा विधिहरूले येशुलाई औँल्याएको थियो। अगमबक्ताहरूद्वारा प्रकट गरिएको विभिन्न विधिहरूमा पुरानो करारको अथाह सम्पत्तिको खजाना वा सम्पदाहरू छन्। अनि नयाँ करारमा येशुको जीवन, उहाँको मृत्यु, पुनरुत्थान र पवित्र आत्माद्वारा परिचालन हुनुभएको येशुका ज्ञानहरू अमुल्य दौलतको रूपमा प्रस्तुत गरिएको छ। पिताको महिमाको चमक हाम्रो येशु दुवै पुरानो र नयाँ करारमा चकमक भएर चम्किरहेको पाइन्छ। पुरानो करारले नयाँ करारको व्याख्या गर्दछ। नयाँ करारले पुरानो करारको व्याख्या गर्दछ। ख्रीष्टमा भएको पिताको महिमालाई दुवै करारले एक एक गरेर प्रकट गरिएको छ। दुबैले सत्यलाई प्रस्तुत गर्दछ। हृदयदेखि खोतल्नेहरूले ती दुवै करारको अध्ययन गर्दा नयाँ नयाँ गहिरो आत्मज्ञान र सत्यहरू निरन्तररूपमा भेट्टाउनेछन्।
पुरानो करारलाई औँल्याउँदै यहुदी धर्मगुरुहरूलाई भन्नुभएको थियो, “तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छाै। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्।” यूहन्ना ५:३९ यहुदी पण्डितहरूलाई धर्मशास्त्र भनेर सम्बोधन गर्नुहुँदा पुरानो करार भनेर उल्लेख गर्नुभएन। त्यसकारण उहाँको बारेमा लेखिएको दुवै करारहरूको महिमा एकैनासको छ भनेर हामीले बुझ्नुपर्दछ। हो, सम्पुर्ण बाइबलले येशु ख्रीष्टको बारेमा बताउँदछ। सृष्टिको सुरुको लेखालाई यूहन्नाले यसरी पुिष्ट गर्दछन्, “सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।” युहन्ना १:३। अनि यस संसारको इतिहासलाई येशुले नै यसरी बन्द गर्नुहुने भनेर बताउनुभएको थियो, “दुष्ट काम गर्नेले दुष्ट काम गरिरहोस्, अस्लील काम गर्नेले अश्लील काम गरिरहोस्, धर्मात्माले धार्मिक कार्य गरिरहोस्, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस्।” “हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।म अल्फा र ओमेगा, पहिलो र पछिल्लाे, आदि र अन्त्य हुँ।” प्रकाश २२:११-१३ जब हामी दुवै करारहरूलाई एकै भनेर अध्ययन गर्दछौँ तब येशुका कामहरू पढिरहेका हुन्छौँ र उहाँको आवाज सुनिरहेका हुन्छौँ। यदि तपाईं मुक्तिदातासँग परिचित हुन चाहनुहुन्छ भने पवित्र धर्मशास्त्र बाइबल अध्ययन गर्नुहोस्।
७