परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा, विनाशी होइन तर अविनाशी वीर्यबाट तिमीहरू नयाँ गरी जन्मेका छौ।"
१ पत्रुस १:२३
सनातन सृष्टिकर्ता जगतको पिताका छोराछोरीहरू हुने दर्जामा पुग्न हृदय परिवर्तन हुनु आवश्यक छ। त्यो परिवर्तन गर्ने प्रक्रियालाई नयाँ जन्म वा पुनर्जन्म भनेर सम्बोधन गरिन्छ। यसलाई किसानीले बारीमा असल बिऊ छरेकोसँग तुलना गरिएको छ। असल बिऊ छर्दा असल बिरुवा उम्रन्छ। आत्मिक जीवनका रहस्यमय सत्यहरूलाई सिकाउन र अझ राम्रोसँग बुझाउन प्रकृतिबाट धेरै पाठहरू लिइन्छ। मानिस जतिसुकै वैज्ञानिक, दक्ष, वौद्धिक, आविश्कारक र महान् भएर देखाएतापनि प्रकृतिको शुक्ष्मभन्दा शुक्ष्म वस्तु बनाएर त्यसलाई जीवन दिन सक्दैन। परमेश्वर आफैबाट दिनुहुने जीवनबाट मात्रै बिरुवा, जन्तु र मानिस बाँचिरहन्छ। त्यसरी नै मानिसको आत्मिक हृदयहरूमा परमेश्वरले उहाँको जीवित बिऊ येशूले रोप्नुहुन्छ र जीवन दिनुहुन्छ।
जब मानिसको जीवनमा सत्यको नीति रोपिन्छ तब त्यो मानिस नयाँ हुन्छ। त्यो मानिस भ्रष्ट र नाशवान विर्यबाट होइन तर परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा, विनाशी होइन तर अविनाशी वीर्यबाट अहिले नै पुनर्जन्म पाएको हुन्छ। परमेश्वर आफैको नित्य वचन ख्रीष्ट हुनुहुन्छ भनेर स्वीकार गरिँदा यो पुनर्जन्म हुन्छ। अनि उसको हृदयमा पवित्र आत्माद्वारा ईश्वरीय सत्य वा विद्याहरू रोपिन्छन्। उसको दिमागलाई नयाँ सङ्कल्पहरू, धारणा र सोचबिचारहरू जगाइ दिन्छ। अनि दविएको वा दवाइएका, लुकाइएको वा लुकिएको जोश, जाँगर, उर्जा र फुर्तीहरू बिउँताइदिन्छ र तिनीहरू परमेश्वरसँग मिलेर काम गर्न प्रयोग गरिन्छ। यस संसारमा ईश्वरीय सत्यलाई जनसमक्ष ल्याउने ख्रीष्ट नै हुनुहुन्छ। उहाँद्वारा नै अविनाशी, निष्कलङ्क र शुद्धविर्य वा परमेश्वरको वचनलाई मानिसहरूका हृदयहरूमा रोप्नुहुन्छ।
मानिसको प्राकृतिक, सांसारिक र पतित स्वभावले बाइबलमा भएका वचनहरूले ध्वस्त पार्दछ। आफ्नो मानवीय भ्रष्ट स्वभावलाई ध्वस्त पारिन्दा त्यो मानिस छटपटिन थाल्दछ। छटपटिएका हृदयहरूलाई सान्त्वना दिन, ढाडस दिन पवित्र आत्मा आउनुहुन्छ। उहाँको परिवर्तन वा कायापलट गर्ने माध्यम अनुग्रहलाई प्रयोग गरिएर परमेश्वरको स्वरूप सच्चा येशूभक्तमा उत्पन्न हुन्छ। आमूल परिवर्तन भएको त्यो व्यक्ति नयाँ सृष्टि हुन्छ। जन्मजातमा भएका घृणा गर्ने प्रवृत्ति, रिसाउने र रिस राख्ने बानीहरू, हठी र अभिमानीहरूको ठाउँमा प्रेम भरिन्छ। उसको हृदय परमेश्वरमा भएको हृदयको प्रतिलिपी हुनजान्छ।
मानिस मरेपछिमात्र पुनर्जन्म हुन्छ भन्ने अनेकौँ धार्मिक शिक्षाको विपरित ख्रीष्टको वचनरूपी विर्य रोपिएर पुनर्जीवन प्राप्त गर्छ। अनि त्यो व्यक्ति आफै हुँदैन तर अनमोल मोल तिरेर मुक्त गरेको विशेष जन हुन जान्छ। यस मामिलामा पत्रुसको यस्तो स्पष्ट धारणा छ, तिमीहरू जान्दछौ, कि आफ्ना पिता-पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि, सुन वा चाँदीजस्ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्ट्याइएका होइनौ, तर निष्खाेट र निष्कलङ्क थुमाको जस्ताे ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ।उहाँ सृष्टिभन्दा अगाडिदेखि नै नियुक्त हुनुभएको थियो, तर तिमीहरूका खातिर समयको अन्त्यमा प्रकट हुनुभयो। १ पत्रुस १:२०। परमेश्वरलाई सरल तरिका विश्वास गर्न पुग्दा तपाईंको हृदयमा पवित्र आत्माले नयाँ जीवनको थालनी गर्नुहुन्छ। तपाईं परमेश्वरको परिवारमा जन्मनुभएको बालक हुने अवसर पाउनु भएको हुन्छ। उहाँले आफ्नै प्रिय पुत्र येशूलाई जस्तै तपाईंलाई पनि प्यार गर्नुहुन्छ।
१३